Mero Chitwan
भारतमा लोकसभाका थप ३३ सांसद निलम्बित 

काठमाडौँ — भारतमा लोकसभाका थप ३३ सदस्य निलम्बित भएका छन् । कंग्रेस, तृणमूल कंग्रेस, डीएमकेलगायतका विपक्षी सांसदलाई सोमबार संसद्‍मा नाराबाजी र प्लेकार्ड बोकेको आरोपमा निलम्बन गरिएको हो । 

सांसदहरु निलम्बन भएपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका छन् ।

यसअघि पनि भारतीय लोकसभाका १३ र राज्यसभाका १ सदस्यलाई शीतकालीन सत्रको बाँकी समयका लागि निलम्बित गरिएको थियो । कंग्रेस अध्यक्ष खड्गेले 'तानाशाही' मोदी सरकारले सांसदहरूलाई निलम्बन गरेर 'सबै लोकतान्त्रिक मूल्य मान्यतालाई डस्टबिनमा फ्याँकिदिएको' पनि बताएका छन् । सोमबार निलम्बन हुने सांसदमा कंग्रेस नेता अधीर रञ्जन चौधरीसमेत रहेका छन् ।

विपक्षी दलहरूले संसद्‍मा भएको आक्रमणका विषयमा गृहमन्त्री अमित शाहको जवाफ मागिरहेका छन् । कंग्रेसले अब मोदी सरकारले विपक्षीविहीन संसद् चलाउन चाहेकोसमेत आरोप लगाएको छ ।  भारतको संसद् भवनभित्रै पुगेर केही युवाले गरेको प्रदर्शनको घटनाले संसद्को सुरक्षा बन्दोबस्तीमाथि एक पटक पुनः प्रश्न उठेको हो। गत बुधबार नयाँ संसद् भवनमा लोकसभाको बैठक भइरहेकै बेला दर्शकदीर्घाबाट दुई जना युवकहरू संसद्भित्र कुदेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update