Mero Chitwan
दुई घटनामा ५ जनाको मृत्यु भएको विषयलाई लिएर दाङका २ स्थानमा  राजमार्ग अवरुद्ध

दाङ : दाङमा हिजो भएका दुई घटनामा ५ जनाको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको दुई स्थानमा पीडित पक्षले राजमार्ग अवरुद्ध पारेका छन् । 

करेन्ट लागेर मृत्यु भएको परिवारलाई न्यायको माग गर्दै पीडत पक्षले लमही-भालुवाङ सडकखण्डको मसुरीयामा राजमार्ग अवरुद्ध पारेका छन । यस्तै, बसको ठक्करबाट राजपुर गाँउपालिका-५ का २ युवकको मृत्यु भएपछि पीडितलाई राहात र दोषीलाई कारबाहीको माग गर्दै पूर्व-पश्चिम राजमार्गको लमही-रिहार सडकखण्ड अवरुद्ध गरिएको छ ।

हाइटेन्सन लाइनको तार चुँडिएर करेन्ट लागेर एकै परिवारका तीनजनाको मृत्यु हुनुमा विद्युत प्राधिकरणको लापरबाही भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले लापरबाही गर्नेलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।

शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार चुडिएर राप्ती गाँउपालिका-३ मसुरियाका ६० वर्षीय गोरखबहादुर केसी, उनकी श्रीमती ५५ वर्षीय दिलसरा केसी र ४ वर्षीय नाति ईश्वर केसीको मृत्यु भएको थियो ।

त्यसैगरी, शनिबार बेलुका रा१ख २३६० नम्बरको बसले रा७प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ राजपुर गाँउपालिका-५ का प्रमोद यादवको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का घाइते प्रदीप यादवको उपचारका क्रममा मृत्यु भएको थियो ।

अवरुद्ध राजमार्ग खुलाउने बारेमा पीडत पक्षसँग वार्ताको प्रयास भइरहेको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update