Mero Chitwan
कांग्रेसलाई रवि लामिछानेको चुनौती : मलाई सहकारीको ठग प्रमाणित गर्नोस्, सार्वजनिक बहस गर्न तयार छु 

काठमाडौं–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगीमा आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न नेपाली कांग्रेसलाई चुनौती दिएका छन्। 

शनिबार उनले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत् यस्तो चुनौती दिएका छन् । उनले आफूमाथि लागेका आरोपमाथि सार्वजनिक रुपमा बहस गर्न समेत तयार रहेको उल्लेख गर्दै सोही बहसमा आफूलाई सूर्यदर्शन सहकारीको ठग प्रमाणित गर्न चुनौती दिएका हुन् । 

‘तपाईंहरुले भनेको दिन,स्थान र  समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ ४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं  आफ्ना विज्ञ,पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले ममाथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनु होला,’ उनले भनेका छन् । 

उनले अगाडि भनेका छन्, ‘यो बहस लाइभ गरौं, ताकि सिंगो देशले हेरोस्। सारा देशका अगाडि तपाइहरुले मलाई  सूर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस्, मैले त मेरा मतदातामाथि न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ।’

"जीबी राईलाई जहाँ बसेको भए पनि समातेर ल्याउछु'

लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई जहाँ बसेको भए पनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले राई देश वा विदेश जहाँ भए पनि पक्राउ गर्ने दाबी गरेका हुन् ।

सहकारी ठगीमा संलग्नताको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गर्दै उनको राजीनामा मागिरहेका बेला लामिछानेले राईलाई पक्राउ गरेरै छाड्ने बताएका हुन् ।

उनले कांग्रेसले आफ्नो विरोध गर्दै संसद् अवरुद्ध गरिरहेको विषयलाई लिएर असन्तुष्टि जनाउँदै अख्तियारले बयान लिइरहेका पार्टीका तत्कालीन मन्त्री र सांसदको विषयमा कांग्रेसले के गरिरहेको छ ? भनी प्रश्नसमेत गरे 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update