सौराहको भित्री जङ्गलको बीचतिर सुन्दर ताल थियो र तालको नजिक पर्यटकहरूको आकर्षक विश्रामगृह रहेको थियो । वसन्त ऋतुको मध्यभागतिर यही एउटा रमाइलो गजल कार्यक्रम चलिरहेको थियो । प्रोफेसर अनन्तराज आफ्ना प्रोफेसर दौतरीहरू आशिका , रसिका , आभा र विभाको माझमा बसेर गजलको मजा लिइरहेको थियो ।
उद्घोषकले दर्शक-दीर्घाहरूको तर्फबाट आइरहेको गुनगुनलाई लक्ष्य गर्दै भने- 'गजलका विशेष हस्ती प्रणयका पुजारी प्रोफेसर अनन्तलाई बैंसे गजलका लागि मञ्चमा आमन्त्रण गर्दछु ।'
प्रोफेसर मञ्चमा पुगेर भन्यो- 'म तपाईहरूकै बैंसको गजल सुनाउँछु । बैंसको रस चखाउँछु । तपाईहरू मनमा एउटा सपना सजाउनु होस् र यो गजल महफिलको आनन्द लिनुहोस्' भन्दै गजल गुनगुनाउन थाल्यो ।
यसप्रकारको रङ्गीन अवसरमा पनि प्रोफेसर रसिका आँखा चिसा बनाएर झ्यालबाट जङ्गली जनावरका क्रीडाहरू हेर्नथाली ।
श्रोताहरूको तर्फबाट करतल ध्वनि गुन्जिन थाल्यो । वाह ! वाह !! को फागु उड्न थाल्यो । यता प्रोफेसर अनन्तको दृष्टि रसिकामा परेपछि ऊ गजल गाउन छोडेर टोलाउन थाल्यो । हलभित्र 'वान्स मोर !' को आवाज चर्किन थाल्यो ।
उता प्रोफेसर आभाले र विभाको कानमा सुस्तरी भनी- 'अनन्त र रसिकाको पुरानो बैसे-पिरतीको मूल फुटिरहेछ । विभाले थपी- 'घाउमा लागेको पाप्रो न हो यो त वेला-वेला उप्किरहन्छ ।
सुखौरा , तनहूँ
हाल : रत्ननगर चितवन