Mero Chitwan
१९ मुलुकका राजदूत र वाणिज्यदूतले भने - नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

लुम्बिनी : विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।

परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन) ले गरेको गरेको सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै उनीहरुले विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन आह्वान गरेका हुन् ।

‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सो सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि प्रार्थना गर्दै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्ति अपरिहार्य भएको सन्देश पनि प्रवाह गरेका थिए । यसका साथै उनीहरुले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण निर्माण गरिरहेको सन्देशसहित नेपालमा लगानीका लागि पनि उनीहरूले विश्वभर सन्देश प्रवाह गरेका एचसिसीएनका पदाधिकारीले बताएका छन् ।

आयोजकहरुले लुम्बिनीबाट शान्तिको सन्देशका साथै नेपाललाई लगानीको गन्तव्यका रुपमा चिनाउन र आगामी महिना नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको वातावरण निर्माण गर्न यो कार्यक्रमको आयोजना गरिएको बताएअनुसार नेपालमा विदेशी लगानी भित्र्याउने अवसरका रुपमा पनि यस सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।

धार्मिक एवं सांस्कृति पर्यटनका लागि लुम्बिनीको प्रचारप्रसार गर्न तथा नेपालमा विदेशी लगानी भित्र्याउनका लागि यहाँ लगानीको सहज वातावरण रहेको सन्देश प्रवाह गर्न लुम्बिनीमा विभिन्न देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्यदूतहरूको सहभागितामा सो कन्क्लेभको आयोजना गरिएकाले यसै विषयमा लुम्बिनीमा तीन दिनसम्म छलफल गरिएको थियो । आगामी महिना नेपाल सरकार, लगानी बोर्ड र उद्योग वाणिज्य महासङ्घसमेतको आयोजनामा नेपालमा लगानी सम्मेलनको आयोजना गरिएको छ । 

सम्मेलनका लागि नेपालमा बढीभन्दा बढी विदेशी लगानी भित्र्याउन यहाँ लगानीको वातावरण छ भन्ने सन्देश दिने काम यस तीन दिने सम्मेलनमा भएको आयोजकहरुले जनाएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति, समृद्धि र आर्थिक विकासलगायतका विषयमा विदेशी पाहुनाहरुसँग छलफल गरेका थिए । उनले  शान्ति र समृद्धि एकअर्काका पूरक हुन् भन्दै यसको सन्देश लुम्बिनीबाट नै अन्तर्राष्ट्रियस्तरमा पुग्नु महत्वपूर्ण भएको बताएका थिएँ ।

विभिन्न विषयका ‘सेसन’ आयोजना गरिएकामा ‘बिजनेस सेसन’ मा उनले विकासको गतिलाई थप अघि बढाउन शान्ति आवश्यक रहेको र लुम्बिनीले विश्वमा शान्तिको सन्देश दिने भएकाले यहाँबाट शान्ति र समृद्धिको सन्देश दिनु उचित रहेको बताए। “नेपालमा व्यापार व्यवसाय गर्ने धेरै क्षेत्रहरु छन् । ती क्षेत्रमा लगानीका लागि कुनै कानुन वा नीतिले अवरोध गरेको छ भने त्यसलाई पुनरावलोकन गर्न नेपाल सरकार तयार छ”, उनले भने, “लगानीलाई प्रोत्साहन गर्न र आर्थिक विकासलाई गति दिन सरकारले लगानीकर्ताको सल्लाह र सुझावलाई गम्भीर रुपमा लिइरहेको छ ।”

 नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष एवं एचसिसीएनका सहायक डिन चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धको महत्वका बारेमा चर्चा गर्दै नेपालमा लगानीका लागि विश्व समुदायसँग आग्रह गरे।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update