
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले वर्तमान सरकारको एक वर्षे कार्यकालप्रति असन्तुष्टि जनाएका छन् ।
प्रेस युनियन बागलुङले आज बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको निरन्तरता वा विकल्पबारे पार्टीको आगामी फागुनमा हुने महासमिति बैठकमा छलफल हुने बताए ।
उनले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले समेत जनचाहनाअनुसार काम गर्न नसकेको स्वीकार गरे । गठबन्धन दलहरुले आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेअनुसार अब बन्ने सरकार कांग्रेसकै नेतृत्वमा हुने तर सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भइसकेकाले पार्टीका अरु नेतालाई अगाडि सार्नुपर्नेसमेत उनले प्रस्ट पारे ।
अर्का महामन्त्री गगन थापाले पनि पाल्पामा भएको एक कार्यक्रममा आवश्यक परेमा वर्तमान सरकार परिवर्तन गरेर भए पनि अघि बढ्न कांग्रेस तयार रहेको दाबी गरेका छन् ।
महामन्त्री थापाले सरकारले राम्रो काम गर्दा प्रशंसा र नराम्रो काम गर्दा आलोचना गर्ने अधिकार कांग्रेसलाई रहेको बताए । सरकार सञ्चालनमा पहिलो वर्षको अनुभव सुखद नरहेको भन्दै उनले सरकारले राम्रो काम गर्न सक्दैन भने परिवर्तन गर्न पनि तयार हुने बताए ।
उनले भने, ‘पुस १२ गतेदेखि सरकारमा सम्मिलित मन्त्रीहरुसँग समीक्षा बैठक छ । कांग्रेसबाट सहभागी भएका मन्त्रीबाट पार्टीका कार्यकर्ता उत्साहित भएको पाइएको छैन । त्यसैले यस विषयमा धेरै छलफल हुनेछ ।’
महामन्त्री थापाले गति बढाउने र मति बदल्ने कुराको अनुभूति सरकारबाट हुनुपर्ने बताउँदै सुशासन र सेवा प्रवाहमा सरकारले गति बढाउन नसकेको बताए । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उस्तै ढंगबाट काम गर्ने हो भने सरकारलाई बोकेर बस्नुपर्छ भन्ने नभएको महामन्त्री थापाले बताए ।