Mero Chitwan
डब्लुएचओको दाबी : गाजाको अल–शिफा अस्पतालमा रगतको खोलो बग्यो

गाजा । विश्व स्वास्थ्य सङ्गठनले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा रगतको खोलो बगेको बताएको छ । 

हजारौँ विस्थापितले आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेको र पिउने पानी तथा भोजनको चरम अभाव रहेको डब्लुएचओले जनाएको हो ।

 राष्टसंघ टोलीले आपत्कालीन विभागलाई ‘रगतको खोलोका रूपमा वर्णन गरेको छ । उक्त विभागमा सयौँ घाइते बिरामी थिए, प्रत्येक मिनेटमा नयाँ बिरामी आइरहेका थिए, 'आघातबाट घाइते बिरामीहरूलाई जमिनमा टाँका लगाइरहेको थियो र दुखाइ कम गर्ने कुनै व्यवस्था थिएन, टोलीले भनेको छ । 

 अस्पतालले अत्यन्त कम कर्मचारीका साथ न्यूनतमस्तरमा काम गरिरहेको भन्दै डब्लुएचओले गम्भीर बिरामीहरूको शल्यक्रियाका लागि अल–अहली अरब अस्पतालमा सार्ने काम भइरहेको बताएको छ । अक्सिजन र आपूर्तिको कमीका कारण अपरेसन थिएटरले काम नगरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।  अस्पतालमा हाल दैनिक ३० बिरामीले मात्र डायलासिस गर्न पाउँछन् । 

अक्टोबर ७ मा इजराइली क्षेत्रमा हमासले गरेको हमलापछि इजराइली सेनाले गरेको बमबारी र स्थल कारबाहीबाट गाजापट्टीमा सबै स्वास्थ्य पूर्वाधारमा व्यापक क्षति भएको छ । 

इजरायली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो । हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो । हमासका अनुसार गाजामा इजरायलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ । 

इजराइलले हमासमाथि अस्पतालमुनि कमान्ड सेन्टर सञ्चालन गरेको आरोप लगाएको छ । उक्त अस्पताललाई युद्धको कानूनअन्तर्गत विशेष सुरक्षा प्राप्त छ । अस्पतालका अधिकारी र प्यालेस्टिनी लडाकू समूह हमासले बारम्बार उक्त आरोपलाई खारेज गरेका छन् ।

पूर्वाधार सेवाहरू पुनः सुरु गर्न ‘आगामी साताहरूमा’ अल–शिफा अस्पताललाई सुदृढ गरिने डब्लुएचओले बताएको छ । हाल अल–अहली अरब गाजापट्टीको सम्पूर्ण उत्तरमा ‘आंशिकरूपमा काम गर्ने’ एउटा मात्र अस्पताल हो । अल–शिफा, अल अवदा र अल सहबा मेडिकल कम्प्लेक्सले न्यूनतमस्तरमा काम गरिरहेका छन् । युद्ध सुरु हुनुअघि त्यहाँ २४ परिचालन सुविधा थिए । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update