चितवन–भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर भ्रमण गर्न प्रवासीहरुलाई आव्हान गरेकी छन् ।
स्पेनको बार्सिलोनामा आयोजित नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले युरोपबाट समेत पर्यटक लैजाने गरि कार्यक्रम र प्रचार गर्न आग्रह गरिन् ।
कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्पेनबाट कम्तिमा १ लाख पर्यटक नेपाल जाने वातावरण बनाउन पहल भइरहेको बताइन् । ‘वर्षमा कम्तिमा १ लाख पर्यटक स्पेनबाट गएर घुमुन्, भरतपुरमा सक्दो पर्यटक पठाउनेछौँ’,उनले भनिन् । पराजुलीले प्रमुख दाहालको जस्तै मिहिनेत हरेक पालिकाहरुमा हुनुपर्ने र विकासका एजेन्डामा सबै एकजुट हुनुपर्ने बताइन् ।
यसैबीच्, नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) स्पेनको अध्यक्षमा पुनः विशाल ढुङ्गाना चयन भएका छन् । चौथो अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिलाई भरतपुर महानगर प्रमुख दाहाल र राजदूत पराजुलीले प्रमाणपत्र वितरण गरेका थिए ।