काठमाडौँ-नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो ।
सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आइतबार आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत् कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए । उनले २०८० असार मसान्तसम्म ७१ अर्ब पाँच करोड ६१ लाख रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख पुगेको जानकारी दिए । कल्याणकारी कार्य सोही कोषको ब्याजबाट सञ्चालन हुँदै आएको पनि उनले उल्लेख गरे ।
सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब रु छदेखि आठ अर्ब खर्च भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले कोषमा ठूलो रकम देखिए पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको बताए । प्रधानसेनापति शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको उनले जानकारी दिए ।
सैनिक कल्याणकारी कोषका प्रमुख कार्यकारी अधिकृत अवकाशप्राप्त रथी गौरव तण्डुलले ‘स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम तथा व्यावसायिक सीप विकास कार्यक्रम’ अवकाश प्राप्त सैनिक र परिवारमा लोकप्रिय रहेको बताए । उनका अनुसार सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट हालसम्म अवकाश प्राप्त तथा एकल महिलातर्फ २३ हजार ५८ र बहालवालातर्फ नौ हजार नौ सय ८५ गरी कूल ३३ हजार ४३ जनाले सात अर्ब ४५ करोड ७७ लाख ७५ हजार सुलभ व्याज दरमा कर्जा सुविधा हासिल गरेका छन् जसमध्ये महिला उद्यमशीलता कर्जातर्फ मात्र हालसम्म अवकाश प्राप्त सैनिकका परिवार तथा एकल महिलातर्फ एक हजार नौ सय ४७ र बहालवाला सैनिकका परिवारतर्फ एक हजार एक सय ६५ जना गरी जम्मा तीन हजार एक सय १२ जनाले रु दुई अर्ब ४६ करोड ६४ लाख ३० हजार कर्जा सुविधा लिइरहेका छन् ।
सेनाले गरिरहेका विभिन्न काम, कारबाहीका बारेमा अवकाश प्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपूसैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपूसैनिक सम्मेलन गरिँदै आएको सेनाले जनाएको छ।