काठमाडौं- चितवनको इच्छाकामनामा रोकिराखेको ट्रकमा यात्रुबाहक बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बसले इच्छाकामना-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । बसले चक्का पंचर भई बाटो छेउमा रोकिराखेको ना६ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने ३७ वर्षीय गौरी दास उपचारका लागि भरतपुरतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।
घाइतेहरु ट्रक चालक वीरगन्ज-२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएकको छ।