
काठमाडौं-अक्टोबर ७ देखि सुरु गरेको इजरायल–हमास युद्धमा १९ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । त्यसमध्ये १८ हजारभन्दा बढी प्यालेस्टिनी र १२ सय इजरायली छन् । तीमध्ये पनि पत्रकारको संख्या ६४ जना रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट–सीपीजीले जनाएको छ।
मृत्यु हुनेमा ५७ प्यालेस्टिनी, ४ इजरायली र ३ लेबनानी पत्रकार छन् । यस्तै, हालसम्म १३ पत्रकार घाइते भएका छन् भने ३ जना हराइरहेका छन् । १९ जना पक्राउ परेका छन् । यसबाहेक पत्रकारमाथि आक्रमण, धम्की, साइबर आक्रमण, सेन्सरसीप र परिवारका सदस्यमाथि आक्रमणका घटना दोहोरिरहेको सीपीजेले जनाएको छ ।
सीपीजीले पहिलो दिन अर्थात् अक्टोबर ७ मै ६ पत्रकार मारिएको जनाएको छ, जुन युद्ध सुरु भएयताकै सबैभन्दा घातक दिन भएको जनाएको छ । त्यसपछि सबैभन्दा बढी पत्रकार मारिएको दिन नोभेम्बर १८ रहेको जनाइएको छ । उक्त दिन ५ जना मारिएका थिए ।
इजरायलले फिल्डमै उत्रिएर कारबाही गर्ने क्रममा थुप्रै पत्रकारले असुरक्षा महसुस गरिरहेका छन् भने आक्रमणका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा सञ्चार सम्पर्कसमेत विच्छेद भइरहेको छ ।
इजरायली सैन्य बलले फ्रान्सेली समाचार समिति एएफपीका पत्रकारहरुलाई गाजामा उनीहरुको सुरक्षाको प्रत्याभूति गर्न नसकिने चेतावनी दिएको थियो । खासगरी, गाजामा इजरायलले फिल्डमै उत्रिएर कारबाही गर्ने क्रममा थुप्रै पत्रकारले असुरक्षा महसुस गरिरहेका छन् भने आक्रमणका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा सञ्चार सम्पर्कसमेत विच्छेद भइरहेको छ ।
के छ विश्वको अवस्था ?
सञ्चार अधिकारवादी अन्तर्राष्ट्रिय संस्था रिपोटर्स विदाउट बोडर्स –आरएसएफले हालै सार्वजनिक गरेको २०२३ को प्रतिवेदनअनुसार गत ११ महिनामा विश्वभर ४५ पत्रकार मारिएका छन् । इजरायल र हमासबीचको युद्धका बावजुद यो वर्ष पत्रकार मारिने घटनामा कमी आएको आरएसएफको दाबी छ । गाजामा युद्धको प्रत्यक्ष रिपोर्टिङ गर्ने क्रममा १३ पत्रकार मारिए पनि समग्रमा ५६ जनाको मृत्यु भएको तथ्यांक आरएसएफको छ ।
अक्टोबर ७ मा युद्ध सुरुयता कामका क्रममा मध्यपूर्वमा कूल ६३ पत्रकार मारिएको आरएसएफको दाबी छ ।
गाजामा रिपोर्टिङ गरिरहेका पत्रकार मारिने क्रममा वृद्धि भए पनि बाहिर भने यस वर्ष घटेको छ । २०२३ मा रुस–युक्रेन युद्धमा २ पत्रकार मारिए भने फेब्रुअरी २०२२ यता उक्त युद्धमा मारिने पत्रकारको संख्या ११ पुगेको छ । ल्याटिन अमेरिकामा २०२२ मा २६ पत्रकार मारिएकामा उक्त संख्या घटेर २०२३ मा ६ भएको छ । मेक्सिकोमा मात्रै अघिल्लो वर्ष ११ पत्रकार मारिएकामा यसवर्ष ४ जनाको मात्रै मृत्यु भएको छ । रिपोटर्स सान्स फ्रन्टियर्सले त मेक्सिको पत्रकारका लागि विश्वमै खतरनाक स्थान भएको जनाएको थियो । त्यहाँ पत्रकारले अपहरण र आक्रमण भोगिरहनुपरेको उल्लेख छ ।
यस्तै, जेलमा रहेका पत्रकारको संख्या विश्वभर ५ सय २१ छ, जबकि अघिल्लो वर्ष यो संख्या ५ सय ६९ थियो । आरएसएफले बेलारुस, चीन र म्यानमारलाई पत्रकारका लागि विश्वकै ठूलो जेल बनेको छ । यस्तै ५४ पत्रकार बन्धक बनेका छन् । सन् २०२२ मा यो संख्या ६५ थियो ।