काठमाडौं-सुन तस्करी प्रकरणमा हिजो पक्राउ परेका पूर्वउपराष्टपति नन्दबहादुर पुनका छोरा दीपेशलाई म्याद थपका लागि बुटवल लगिएको छ ।
६० किलो सुन तस्करीमा संलग्न रहेको आरोप लागेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले हिजो काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा उनी मुछिएका छन् । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् ।
दीपेश ६० किलो सुन तस्करीका मुख्य आरोपी मध्येका एक चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङसँग निकट सम्बन्ध रहेका व्यक्ति पनि हुन् । दीपेशले नै दावालाई प्रहरीका उच्चअधिकृत तथा तत्कालीन उपराष्ट्रपति पुनसँग सम्बन्ध बनाइदिएका थिए । ८ वर्षभन्दा लामो समयदेखि काठमाडौं बसेर सुन तस्करी गर्दै आएका दावाले नेपाली नागरिकता र राहदानी समेत बनाएको प्रहरीकै अनुसन्धानबाट खुलेको थियो । तर दीपेश भने राजनीतिक संरक्षणकै कारण जोगिँदै आएका थिए ।
माओवादी केन्द्रकै अर्का नेता कृष्णबहादुर महराका छोरा राहुल पनि विद्युतीय चुरोटबाट भएको ९ किलो सुन तस्करी प्रकरणको अभियोगमा पुर्पक्षका लागि कारागारमा छन् ।