काठमाडौं–नेपाल विश्वमै सुन्दर झण्डा हुने मुलुकको सूचीमा उत्कृष्ट ५ भित्र परेको छ । ‘इन्साइडर मंकी’ नामक वेबसाइटले विश्वका सबैभन्दा सुन्दर झण्डा भएका २५ देशहरूको सूची तयार गरेकोमा नेपाल उत्कृष्ट पाँचौं नम्बरमा परेको हो ।
र्यांकर, फोर्ब्रस, स्न्यापबक्स, न्युज १८ र रेडिट थ्रेड्सलगायतका वेबसाइटमा प्रकाशित लेखका आधारमा झण्डाहरुको स्कोर निकालिएको हो, जसमा पाँचौं नम्बरमा रहेको नेपालले १३ नम्बर पाएको छ ।
नेपालको झण्डा विश्वको सबैभन्दा अनौठो र सुन्दर झण्डामध्ये एक भएको तथा आयाताकार अन्य मुलुकका झण्डाभन्दा फरक रहेको इन्साइडर मङकीले उल्लेख गरेको छ । नेपालको झण्डा दुई त्रिकोणको संयोजन रहेको तथा झण्डामा रहेका सिम्रिक र निलो रंगमध्ये सिम्रिकले राष्ट्रिय फूलको प्रतिनिधित्व गर्ने तथा नीलो रंग शान्ति र सद्भावको प्रतीक रहेको उल्लेख गरिएको छ । सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।
इन्साइडलर मंकीले भनेको छ – ‘नेपालको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य झल्काउने झण्डाको विशिष्ट आकार र समृद्ध प्रतीकात्मकताले यसलाई तुरुन्तै चिन्न सकिने र सौन्दर्यात्मक रूपमा आकर्षक बनाउँछ।’
सुन्दर झण्डा हुने मुलुकको सूचीमा दक्षिण अफ्रिका चौथो नम्बरमा, ब्राजिल तेस्रो, क्यानडा दोस्रो र जापान पहिलो नम्बरमा रहेको छ ।
अन्य उत्कृष्ट २५ मुलुकमा (छैटौं नम्बरदेखि क्रमशः) बेलायत, स्वीजरल्याण्ड, स्पेन, स्वीडेन, इटाली, मेक्सिको, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, नर्वे, डेनमार्क, पोर्चुगल, भारत, फ्रान्स, अर्जेन्टिना, ग्रिस, जमैका, भुटान, सिसिलिस र पलाउ छन् ।