
काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुँजी बजारको अवस्था र आवश्यकताबारे अध्ययन नगरी नयाँ स्टक एक्सचेन्जको अनुमति नदिन सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत् थापाले सरकारलाई यस्तो आग्रह गरेका हुन् । उनले कुनै बेला सरकार आफैंले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबर आएको भन्दै आवश्यकता पहिचान नभएसम्म अनुमति दिने प्रक्रिया रोक्न माग गरेका छन् ।
‘सरकारले उपयुक्त अध्ययनविना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो। यस्तै भएको छ, नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा,’ उनले भनेका छन् । सरकारले कुरा सुशासनका गर्ने, काम कुशासनका गर्ने गर्न नमिल्ने उनको भनाइ छ । थापाले आफूहरुले यो विषयमा प्रधानमन्त्रीलाई भेटेरै भनेको र सार्वजनिक रूपमा पनि खबरदारी पनि गराएको बताएका छन् ।
सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो। यस्तै भएको छ, नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा! कुनै बेला सरकार आफैले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबरहरू आएका छन। पुँजी बजारको… pic.twitter.com/rqhPiFz6AM
— Gagan Thapa (@thapagk) December 16, 2023