दोलखा-रामेछापको रामेछाप नगरपालिका ९, टार गाउँमा आज भएको भिषण आगलागीबाट २० भन्दा बढी घर-गोठ जलेर नष्ट भएका छन् । बस्ती नजिकैको जंगलमा बुधबार लागेको डढेलो नियन्त्रणमा लिए पनि पुन: सल्किएर आज गाउँमा आगलागी भएको हो ।
रामेछाप बजारमा बिहीबारे हाट हेर्न गएका बेला डढेलो बस्तीमा फैलिएको वडाअध्यक्ष चन्द्र श्रेष्ठले बताए । डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देवेन्द्र यादवका अनुसार २० भन्दा बढी घर गोठ जलेका छन् । टार गाउँका अधिकांश घर जलेका छन् । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक र पशु चौपायामा क्षति भएको छ ।
आगलागी नियन्त्रणको प्रयास भइरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपाली सेना, डिभिजन वन कार्यालयका अग्नि नियन्त्रक टोली, मन्थली नगरपालिकाको दमकल र स्थानीय बासिन्दा आगो नियन्त्रणमा खटिएका छन् ।