काठमाडौँ-सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
करिब ५ महिनाको छानबिनपछि आयोगले ४८५ पृष्ठसहितको प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको हो । समितिले ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारेको हो । आयोगले केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिससमेत गरेको छ ।
प्रतिवेद बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने पनि उनको भनाइ छ । कमजोरी गर्ने जुनसुकै निकाय र व्यक्तिविरुद्ध कारबाही हुने गृहमन्त्री लामिछानेले बताएको उनको सचिवालयले जनाएको छ । विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने गृहमन्त्री लामिछानेको भनाइ छ ।