दाङ : दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रेका छन् ।
चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाह ठप्प भएको छ । घोराही उपमहानगरपालिका –१५ सडक विभागको ओरालोमा रहेको अस्पतालमा राजपुर गाउँपालिका –१ पटौली नाका निवासी ९ वर्षीय सुरेश कुँवरको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको थियो ।
उपचारका क्रममा बालकको नाक र मुखबाट रगत आएको र त्यसपछि चिकित्सकले समयममा उपचार नगर्दा बालकको मृत्यु भएको मृतकका आफन्तको आरोप छ । ‘घाँटी सुन्निएको थियो । त्यही उपचारका लागि घोराही आएका थियौ’ मृतकका आफन्त सपना बुढाले भनिन्, ‘अस्पतालमा भर्ना भएको बच्चाको केही समयमै मृत्यु भयो । त्यसैले हामीलाई शङ्का लागेको छ ।’
आफन्तले विवाद गर्दा केही समय अस्पतालमा समस्या आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए । घटनाबारे विस्तृत जानकारी आइनसकेको उनको भनाइ छ । एक साताअघि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको उपचार गराएर घर लगिए पनि ठिक नभएपछि बुधवार बुद्ध अस्पतालमा उपचारका लागि लगिएको थियो