काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांगेसले आगामी दिनमा संसद् सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले तत्कालीन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराएकी छन् ।
बैठक सुरु हुने बित्तिकै बोल्दै उनले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानुनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिन् ।
सचेतक थिङले सहकारी ठगीको मुद्दा लागेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्री दाहालले उथलपुथल गरेपनि त्यसबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन् । ‘सहकारी ठगीमा जोडिएका, पोखरा महानगरपालिकाको अनुसन्धानमा रहेका गृहमन्त्री बनाएर ल्याउनु भएछ । साँच्चीकै उहाँले उथलपुथल गरेर ल्याउनु भएछ,’ थिङले भनिन् ।