काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक अहिले ११ बजेबाट सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत लिँदै छन् ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीको विश्वासको मत पाउँ भन्ने प्रस्तावमाथि छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिने र आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची पनि छ ।
त्यस्तै राष्ट्रिय सभा बैठक पनि आज बस्दै छ । आजको बैठकमा हिजै निर्वाचित भएका अध्यक्ष नारायणप्रसाद दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने, विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयन गर्ने, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्न र आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची छ ।