Mero Chitwan
हात्ती तथा पर्यटन महाेत्सवकाे आयव्यय : ५५ लाख खर्च, २३ लाख नाफा

चितवन : चितवनकाे साैराहामा आयाेजना गरिएकाे चितवन हात्ती तथा पर्यटन महाेत्सवकाे मंगलबार आयव्याय सार्वजनिक गरिएकाे छ । क्षेत्रीय हाेटल संघ चितवन साैराहाले गत पुस १० गते देखि १४ गते सम्म १७औं संस्करणकाे हात्ती तथा पर्यटन महाेत्सव गरेकाे थियाे ।

कार्यक्रममा संघका काेषाध्यक्ष माधव दुवाडीले महाेत्सवकाे आम्दानी खर्च सार्वजनिक गरेका थिए । महाेत्सवमा ७८ लाख ८२ हजार ६०० रूपैयाँ आम्दानी भएकाे र ५५ लाख ३८ हजार ८०० रूपैया खर्च भई २३ लाख ४३ हजार ८०० रुपैयाँ मुनाफा भएकाे दुवाडीले जानकारी दिए । त्यसमध्ये महाेत्सवमा स्थानीय सरकारसहित विभिन्न संघसंस्थाले कबुल गरेकाे ४७ लाख ४० हजार रुपैयाँ उठ्न बाँकी छ भने संघले महाेत्सवकै १ लाख ८३ हजार ९९४ रूपैया तिर्न बाँकी रहेकाे जनाएकाे छ ।

कार्यक्रममा महाेत्सवमा उत्कृष्ट काम गरेकाे भन्दै संघका सदस्य ध्रुवराज बाग्लेलाई सम्मान गरिएकाे छ । संघका अध्यक्ष गंगा गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष ओमप्रकास पाण्डेले हात्ती तथा पर्यटन महाेत्सवले जिल्लाकाे पर्यटन विकासमा पार्ने दीर्घकालिन प्रभावका बारेमा बोलेको थिए ।

यसैबीच क्षेत्रीय हाेटल संघ चितवन साैराहाकाे १९औं बार्षिक साधारण सभा मंगलबार नै गरिएकाे छ । हाेटल संघका केन्द्रीय सदस्य सुमन घिमिरे प्रमुख अतिथि रहेकाे कार्यक्रममा संघका महासचिव गुणराज थपलियाले बार्षिक प्रगति प्रतिवेदन तथा काेषाध्यक्ष माधव दुवाडीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update