Mero Chitwan
को हुन् राष्ट्रिय सभाका नयाँ अध्यक्ष ?

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालको राजनीतिक यात्रा विद्यार्थी, प्रवास, पार्टी हुँदै राष्ट्रिय सभाको अध्यक्षसम्म आइपुगेको हो । 

 कास्की जिल्लाको ढिकुरपोखरीमा २०१२ चैत १६ गते जन्मिएका दाहाल २०१९ सालमा पुष्पकमल दाहाल परिवारसँगै चितवन बसाइसराइ गरी शिवनगर आइपुगेको हो । उनले नारायणी माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरे भने विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भए ।

 २०२७ जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा पुष्पकमलसँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भए । दुवै दाजुभाइले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए । त्यसको केही समयपछि तीन जनाको स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बने । काठमाडौँ बस्ने साथीहरुले पठाएको मोहनविक्रमले नेतृत्व गरेको नेकपा चौथो महाधिवेशनको मुखपत्र ‘मशाल’ अध्ययनपछि २०३४ सालबाटै उनी चौथो महाधिवेशनको सदस्य नबन्दै मोहनविक्रमलाई पार्टी नेता मान्ने निर्णयमा पुगे ।

२०३६ सालमा डिप्लोमा पास गरेर पार्टी जीवनमा होमिएका दाहाल सोही समयमै एरिया पार्टी कमिटीको कोषाध्यक्ष छानिए । उनलाई मोहन विक्रम घरमै आएका बेला छलफल भई पुष्पकमलको सल्लाहमा पूर्णकालीन सदस्य भए । त्यसपछि परिवार छाडेर भारत प्रवासमा पार्टी काम गर्न पुगे । 

भारत पुगेलगत्तै दाहालले जिल्ला पार्टीको मान्यता प्राप्त पार्टी कमिटीको सचिवको जिम्मेवारी निर्वाह गरे । साथै प्रवासमा रहेको अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिवको रुपमा काम गर्न थाले । भूमिगत कालमा उनी ‘सरल’ र ‘रामप्रसाद’ को नामले चिनिन्थे । २०३७ सालदेखि पार्टीको पूर्णकालीन सदस्य बनेका उनले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे । समाजको सह–सचिव, कोषाध्यक्ष र २०३८ सालदेखि केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिवको जिम्मेवारी बहन गरे । उनले भारतका २६ राज्यमा ३२ वटा पार्टी कमिटी गठन गरी सक्रिय बनाएका थिए । 

२०४६ को जनआन्दोलनका बेला नेपाल फर्किएका उनको इच्छा नेपालमै बसेर पार्टीलाई योगदान पुर्‍याउने थियो । तर, प्रवासको पार्टी काम र संगठन परिचालनमा केही जटिलता देखा परेपछि परिवारसहित २०४७ सालमा भारत गए ।

प्रवास रहँदा पार्टीको निर्णयअनुसार अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन (रिम) को दक्षिण एसियाली शाखा कमिटीको जिम्मेवारीमा रहेर तीन वर्ष काम गरे । त्यसपछि पुनः प्रवास संगठनको अध्यक्ष भएकाल उनले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । भारतमा रहँदा त्यहाँका भूमिगत कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध स्थापित गरेका दाहाललाई भारत सरकारले वारेन्ट जारी गर्दै प्रवासको मोर्चा संगठन अखिल भारत नेपाली एकता समाजमाथि प्रतिबन्ध लगायो । जुनबेला दाहाल प्रवास मोर्चा संगठनको अध्यक्षको जिम्मेवारीमा थिए । खुल्लारुपमा संगठन विस्तार र परिचालन गरिरहेका दाहालले विसं २०५९ सालदेखि भारतमै पनि भूमिगतरुपमा काम गरे ।

२०४८ मा महाधिवेशन प्रतिनिधि बनेका उनी २०५७ सालदेखि पार्टी केन्द्रीय सदस्य भए भने अहिले पार्टीको स्थायी समिति सदस्य छन् ।

उनी बृहत् शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए भने २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि उनी कास्की जिल्लाको इन्चार्ज बने भने भेरी कर्णाली र सुर्खेत जिल्लाको इन्चार्ज पनि बने । 

एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि दाहालले बागमती प्रदेश कमिटीको अध्यक्ष बनेर जिम्मेवारी सम्हालेका थिए । उनी २०७८ देखि राष्टिय सभा सदस्य छन् भने प्रधानमन्त्री दाहालको प्रशासनिक सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update