Mero Chitwan
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल बहुमतले निर्वाचित

काठमाडौं : राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल बहुमतले निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा दाहाल निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत विभाजन भएको हो ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत प्राप्त भयो । यससँगै युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ । मतदान प्रक्रियामा ५६ जना सदस्य सहभागी थिए । 

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ बनेको सत्ता गठबन्धनले अध्यक्षको निर्वाचनमा ओवादीका दाहालाई समर्थन गरेको थियो । दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

राष्ट्रिय सभाका अध्यक्ष बनेका दाहाल माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुन् । उनी २०३६ सालदेखि पार्टी राजनीतिमा सक्रिय छन् । २०६३ मा अन्तरिम संसद्का सदस्य उनी २०६४ सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र-३ बाट विजयी भएका थिए ।

२०७० को निर्वाचनमा भने उनी पराजित भएका थिए । त्यसपछि उनी कांग्रेस– माओवादी सरकारको सिफारिसमा मनोनित कोटाबाट २०७८ फागुन २५ गते राष्ट्रिय सभा सदस्य बनेका हुन् । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएको थियो ।  राष्ट्रिय सभाको अर्को बैठक भोलि अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update