काठमाडौं : यतिबेला राष्ट्रिय सभाको बैठक भइरहेको छ । आजकै बैठकले राष्ट्रिय सभाको नयाँ अध्यक्ष छान्नेछ । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएपछि आज नयाँ अध्यक्ष चयन हुन लागेको हो ।
राष्ट्रिय सभा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
माओवादी केन्द्रका नारायण दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका युवराज शर्मालाई अर्को विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको साथ छ ।
अध्यक्षका लागि हिजो दर्ता भएका दुवै मनोनयन आजको राष्ट्रियसभा बैठकमा निर्णयार्थ पेस गरिँदै छ ।
राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग माओवादीका एक उपाध्यक्षसहित १८,नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ सांसद छन् । यस्तै विपक्षी गठबन्धनमा कांग्रेसका १६ तथा लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक गरी १८ सदस्य छन् ।