Mero Chitwan
राष्ट्रियसभाले आज नयाँ अध्यक्ष पाउँदै

काठमाडौं-संघीय संसदअन्तर्गत माथिल्लो सदन राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदैछ । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएपछि आज नयाँ अध्यक्ष चयन हुन लागेको हो ।

राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा अध्यक्षको प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रका नारायण दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ । गठबन्धनको साथ पाएका दाहालले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । 

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका युवराज शर्मालाई अर्को विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको साथ छ । अध्यक्षका लागि हिजो दर्ता भएका दुवै मनोनयन आज बस्ने राष्ट्रियसभा बैठकमा निर्णयार्थ पेस हुने छ । 

राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग माओवादीका एक उपाध्यक्षसहित १८,नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ सांसद छन् । यस्तै विपक्षी गठबन्धनमा कांग्रेसका १६ तथा लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक गरी १८ सदस्य छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update