आज ३६ वर्ष भएछ दशरथ रङ्गशालामा भएको त्यो दुखद घटना भएको पनि । विजयीको दावेदार रहेको आरएनएसी एघारलाई हराएर फाइनलमा पुगेको जनकपुर चुरोट कारखानाको टीम र बंगलादेशको मुक्ति जोद्धाको टीमबीच फाइनल खेल हुने तयारी भइरहेको थियो ।
अधिकांश फाइनल खेल झै यसपटक पनि शनिवारकै दिन रोजिएको थियो । २०४४ फागुन २९ गते शनिवारका दिन त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल खेल हुँदै थियो । जनकपुर चुरोटको समर्थनमा नेपाली दर्शक ओइरिएका थिए । फाइनल खेल हेर्न दर्शकहरु भने जनकपुर, बुटवल, भैरहवा, वीरगञ्ज तथा पोखरादेखि आएका थिए । शनिवारको दिन भएकाले पनि काठमाडौं उपत्यकाका तीनै शहरका फुटबलप्रेमी पुगेका थिए । दर्शकहरुमा प्राय ३० वर्षभन्दा कम उमेरका नै थिए । केही टिकट नपाएर बाहिरै थिए भने कति भने फुटबल शुरु भइसक्दा पनि भित्र पस्नलाई कुरिरहेका थिए ।
निर्धारित समयमा नै खेल शुरु भएको थियो । दिउसो २:३० मा शुरु भएको खेलमा जनकपुरको टिमका क्याप्टेन रामराज सिंह थिए भने खेलाडीहरुमा गणेश पाण्डे, जीवन लामा, अनिल रुपाखेती, पुष्प केसी, इन्दु रसाइली, देवेन्द्र बस्नेत, राजेश थापा, ललित थापा तथा गोलकिपरमा सुनिल गिरी थिए । रेफ्रीमा श्याम श्रेष्ठ थिए ।
खेल शुरु भएको केही समयमा नै बंगलादेशको खेलाडीले गोल हाने । दर्शकदीर्घाबाट हुटिङ हुन थाल्यो । जनकपुर चुरोटको टिमलाई मानसिक दबाब पर्न थालिसकेको थियो । क्याप्टेन गणेश थापाको आरएनएसी टीमलाई हराएर फाइनल पुगेको टिम खेल शुरु भएको केही मिनेटमा नै बंगलादेशको टीमभन्दा पछाडि परिसकेको थियो । कति दर्शकहरु अझै दक्षिण ढोकामा भित्र पस्ने पालो कुरिरहेका थिए। गेटमा तल माथि बलियोसंग सिक्री बाँधेर एकजना भन्दा बढी पस्न नमिल्ने बनाइएको थियो ।
खेलको १९ मिनेट हुँदा अचानक ठूलो हावाहुरी तथा असिना पर्न थाल्यो । रेफ्री श्याम थापाले तत्कालै लामो सिठी ठोकेर खेल रोकिएको जनाउ दिइसकेका थिए । दर्शकहरु सुरक्षित हुन भाग्न थाले । खेलाडीहरु पनि ओत लाग्न थाले । करिव ३० हजार दर्शकले भरिएको प्यारापिटमा एकैचोटी भागाभाग हुन थाल्यो । जो लडे, तिनका माथि सयौंले कुल्चन थाले । लडेका कहिल्यै उठ्न नसक्ने भए ।
बाहिर निस्कने ढोकाहरु ८ वटा थिए । तर सात वटा ढोकामा चाबी लगाएर गार्ड फुटबल मैदानमा नै थिए । एक ढोकामात्र खुला थियो । त्यो पनि तल माथि सिक्री बाँधेर एक जनाभन्दा बढी निस्कन नमिल्ने बनाइएको थियो । जसले गर्दा धेरै मानवीय क्षति हुन पुग्यो । नेपालको खेलकुद इतिहासको सबैभन्दा दुखद घटनामा सरकारी तथ्यांकले ७३ भनिए पनि पछि आफन्तहरुले २० जनाको शव रङ्गशालाभित्र भेटेका थिए । यसरी मृत्यु हुनेमा दुइ जना प्रहरीहरुका साथै ९३ जना खेल प्रशंसकहरुले ज्यान गुमाउन पुगे । त्यस्तै सयौको संख्यामा घाइते भए। रङ्गशालाको ढोका समयमा नखोलेको हुँदा बाँचेर बाहिर भागेकाहरुको भिडले ३ वटा सरकारी गाडीमा तोडफोड गरेका थिए ।
घटनापछि वीर अस्पतालमा विरामी खचाखच भरिएका थिए भने मृत्यु भएकाहरुको शव लहरै राखिएको थियो । घाइतेहरु वीर अस्पतालमा भिड भएका कारणले टेकु अस्पताल, पाटन अस्पताल, विरेन्द्र प्रहरी अस्पताल तथा टिचिङ अस्पताल समेत लगिएको थियो । मृत्य हुनेहरुमा अधिकांश २० देखि २५ वर्षबीचका थिए । बिभिन्न अस्पतालहरुमा राजा, रानी, प्रधानमन्त्री मरिचमानसिंह तथा मन्त्रीहरु उपचाररत घाइतेहरुको अवस्था बुझ्न पुगेका थिए ।
सरकारले तत्कालै मृत्यु भएकाहरुको परिवारजनलाई रु ५ हजार र घाइतेहरुलाई रु २ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो । यस घटनापछि खेलकुदमन्त्री केशर बहादुर बिष्ट तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव शरदचन्द शाहले राजीनामा दिए ।
घटनाको शोक मनाउन नेपाल सरकारले भोलिपल्ट आइतवार फागुन ३० गते कुनै पनि सरकारी समारोह आयोजना नगर्ने तथा खेलकूदका कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेको थियो । साथै रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट एक दिनका लागि मनोरञ्जनका कार्यक्रम प्रसारण नगर्ने समेत घोषणा गरिएको थियो ।
इतिहासका अध्येता सुनील उलकको फेसबुकबाट