Mero Chitwan
लिखित सहमति गरे मात्रै गठबन्धनका उम्मेदवारलाई भोट हाल्नेछौं : एकीकृत समाजवादी

काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले आफ्नो पार्टीले राखेका मागमा लिखित सहमति गरे मात्रै राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई भोट दिने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमति भए मात्रै भोट दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए ।

‘भोलि हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्युले लिने विश्वासको मत बारेमा निर्णय गरेका छैनौँ,’ उनले भने, ‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो, लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ । तर, उहाँले हाम्रा कुरा सुनुवाई नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ ।’

गठबन्धनको सरकार रहने वा ढल्ने भन्ने कुरा प्रधानमन्त्रीमै निर्भर रहने उनको भनाइ छ । ‘सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ,’ प्रमुख सचेतक चौधरीले भने, ‘सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update