काठमाडौं– हत्कडीसहित फरार भएका थुनुवालाई पक्राउ गर्न जाँदा भिरबाट लडेर प्रहरी जवानको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनुवा कक्षबाट अस्पताल लैजाँदै गर्दा उमेश कुँवर हत्कडीसहित फरार भएका थिए। फरार थुनुवा कुँवरलाई पक्राउ गर्न जाँदा प्रहरी जवान सुवान चौधरी भिरबाट लडेर गम्भीर घाइते भएका थिए।
घाइते भएका जवानलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए। फरार भएका थुनुवा महाकाली नदी तरेर पारी भारततर्फ पुगेका थिए। भारतीय सुरक्षाकर्मी र स्थानीय समेतको सहयोगमा उनलाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइएको छ।
माघ ७ गते दुईजना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका उनी फागुन २० गते पक्राउ परेका थिए। महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट उनलाई फागुन २० गते प्रहरीले पक्राउ गरेको थियो।